काठमाडौं– शुक्रबार जापानको दक्षिणी भेगको शहर नारामा गोली हानी हत्या भएका पूर्वाप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी भएको जापान प्रहरीले स्वीकारेको छ। सुरक्षामा कमजोरीकै कारण उनको हत्या हुने अवस्था सिर्जना भएको त्यहाँको प्रहरीले बताएको छ।
नारा सहरका प्रमुख प्रहरी अधिकारी टोमाकी ओनिजुकाले बताएअनुसार सुरक्षामा निकै कमजोरी देखिएको छ। उनले भनेका छन्, ‘सुरक्षाको विषयमा विभिन्न समस्याहरु भएको कुरालाई अस्वीकार गर्न सकिँदैन।’
शुक्रबार एक राजनीतिक कार्यक्रमका बीच एक बन्दुकधारीले आबेमाथि गोली चलाएका थिए। उक्त घटनापछि अहिले पुरै जापान स्तब्ध भएको छ।
प्रहरीले हालसम्म आरोपितका रुपमा ४१ वर्षका टेत्सुया यामागामीलाई पक्राउ गरेको छ। यामागामीले पनि आफूले आबेलाई घरमै बनाइएको बन्दुकले गोली हानेको स्वीकारेका छन्।
उनी कुनै संगठनको मान्छे भएको आशंका गरिएको बताएइतापनि हालसम्म यसमा स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन।
यामागामीले आबे कुनै धार्मिक संगठनकेन्द्रित भएर आफ्नी आमालाई आर्थिक रुपमा असर पारेको सोचेर यो हत्या गरेको हुनसक्ने आशंका गरिएको जापानी सञ्चारमाध्यमले बताएका छन्।
प्रमुख प्रहरी अधिकारी ओनिजुकाले भनेका छन्, ‘हामीले अहिले गर्नुपर्ने आवश्यक काम अनुसन्धान गरेर के भएको थियो भन्ने पत्ता लगाउनु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।