काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय भएको छ।
बैठक वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा केन्द्रित हुने बताइएको छ। यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।
बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र मान्यता दिने निर्णय समेत गर्ने प्रवक्ता डा प्रकाशशरण महतले बताए।
यसअघि आइतबारको पदाधिकारीसहितको बैठकले शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थामध्ये ११ वटालाई मान्यता दिने निर्णय गरेको थियो।
कांग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता पाउनका लागि २७ वटा संस्थाले आवदेन दिएका थिए।
नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, जनसम्पर्क समिति, भूतपूर्व सैनिक संघ, प्रजातन्त्र सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, मुस्लिम संघ, तामाङ संघ, मगर संघ र ठाकुर समाज हाल भ्रातृ संस्थाको रुपमा क्रियाशील छन्।
यस्तै, नेपाल प्रेस युनियन, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी लोकतान्त्रिक संस्था महासंघ, नेपाल लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ, डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्सलगायतले कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा यसअघि नै मान्यता पाएका थिए।
यी हुन् नयाँ मान्यता पाउने
भ्रातृ संस्था
नेपाल थारू संघ
नेपाल आदिवासी जनजाती महासंघ
शुभेच्छुक संस्था
नेपाल लोकतान्त्रिक खेलकुद संघ
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ
नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ
नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ
नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ
नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ
नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ
नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ
नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।