काठमाडौँ-सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँग छलफल गरेका छन्।
आइतबार साँझ नेम्वाङ निवास बालुवाटारमा भएको भेटमा नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिए।
नेता नेम्वाङले गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले संसद्मा पेस भएको नागरिकता विधेयक पास गर्न सहयोग गर्न आग्रह गरेको जानकारी दिए। ‘तपाईंहरूले पहिला ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा समावेश गरेका विषयवस्तु समावेश गरेर विधेयक संघीय संसद्मा पेस गरेका छौँ। पास गर्नलाई छलफल गरौँ भन्नुभयो,’ नेम्वाङले भने, ‘मैले ठीक छ, हाउसमा विधेयक आएपछि छलफल त हुने नै भयो। हामी नागरिकता विधेयकमा सकारात्मक नै छौं । विधेयकमा के-के विषय समेटिएका छन्, त्यो हेर्छौ भनेँ ।’
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो। राज्य व्यवस्था समितिले २०७७ असार नौ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो ।
सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ। विधेयक पास भएमा नागरिकता नपाएका लाखौँ युवाले नागरिकता पाउने सरकारकाे दाबी छ।
नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिकबाहेकका सामाजिक, आर्थिक र सास्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ। यो विधेयकमा सरकारले गैरआवाआसीय नेपालीलाई नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई संवोधन गर्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।