काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। पार्टी कार्यालय सानेपा ललितपुरमा आइतबार दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।
उनले पदाधिकारी बैठकमा छलफलका अजेन्डाबारे अहिले नै प्रष्ट नभए पनि भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा छलफल हुने संकेत गरे।
भ्रातृ संस्थाका विधानबारे केही समयदेखि नेपाली कांग्रेसले पदाधिकारी बैठकमा छलफल गर्दै आइरहेको छ। तर, ती विषयमा टुंगोमा पुग्न सकेको छैन।
नेता एनपी साउदको संयोजकत्वमा कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ।
यो प्रतिवेदनमा केन्द्रित रहेर अन्तिम रूप दिनका लागि पदाधिकारी बैठक बस्ने भएको अर्का एक नेताले जानकारी दिएका छन्।
नेविसंघ लगायतका संस्थाका महाधिवेशन लामो समयदेखि हुन सकेका छैनन्। कांग्रेसमा अहिले १३ भ्रातृ र १८ शुभेच्छुक संस्था छ। भ्रातृ संस्थामध्ये अधिकांश महाधिवेशन हुन नसकेर तदर्थ समितिका भरमा छन्।
सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकसमेत बोलाएकाले त्यसका अजेन्डाका बारेमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।