काठमाडौं–प्रदर्शनकारीको ठूलो भीड राष्ट्रपतिनिवासबाट प्रधानमन्त्रीनिवासतर्फ सोझिएपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघले आफू राजीनामा दिन तयार भएको बताएका छन्।
प्रधानमन्त्री कार्यालयले सर्वदलीय सरकार गठनको मार्गप्रशस्तका लागि विक्रमसिंघले राजीनामा दिन तयार रहेको जनाएको हो। विक्रमसिंघेले पार्टी नेताहरुलाई सर्वदलीय सरकार गठनका लागि आफू राजीनामा दिन तयार रहेको जानकारी दिएपछि प्रधानमन्त्री कार्यालयले धारणा सार्वजनिक गरेको हो।
यसअघि शनिबार मध्यान्ह १ लाखभन्दा बढी प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकार निवास घेरेका थिए। त्यसपछि राष्ट्रपति त्यहाँबाट भागेको बताइएको छ। समाचारमा जनाइएअनुसार राष्ट्रपति सुरक्षित स्थानमा पुगेका छन्। तर उनी कहाँ छन् भन्नेबारे भने गोप्य राखिएको छ।
श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्याले पनि शनिबारको प्रदर्शनमा भाग लिँदै आफू श्रीलंकाली नागरिकको साथमा रहेको बताएका छन्।
प्रदर्शनकारीलाई रोक्न सेना सडकमा उत्रिएका छन् भने राजधानी कोलम्बो तनावग्रस्त छ। प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।