काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगति अन्त्यका लागि अभियान नै सञ्चालन गर्नुपर्ने बताएका छन्।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारले पैसाको खोलो बगाउनेजस्तो डरलाग्दो अवस्था देखिएको भन्दै उनले युवाहरुलाई त्यस्तो विकृतिविरुद्ध अभियान सञ्चालन गर्न अनुरोध गरेका हुन्।
शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै उनले संघीय संसद् र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता कार्य अन्त्य गर्नुपर्ने बताए।
युवाहरुले निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने दृष्टान्त काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको उनको भनाइ छ।
स्थानीय तह निर्वाचनको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उनले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढन जरुरी रहेको बताए।
सभामुख सापकोटाले निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरे। उनले शीर ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।