काठमाडौं– स्थानीय तहको निर्वाचनअन्तर्गत पुन: मतदान भएको बाजुराको बुढीगंगा नगरपालिकाका ४ वटा वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १, २, ९ र १० को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा ४ वटै वडाको वडाध्यमा एमाले उम्मेदवार विजयी भएका हुन्।
वडा नम्बर २ मा नेपाली कांग्रेसका नर बहादुर थापालाई पराजित गर्दै एमालेका पदम बहादुर भण्डारी वडाध्यक्षमा विजयी भए। विजयी भण्डारीले ८३८ ल्याए। उनका प्रतिस्पर्धी नर बहादुर थापाले २३५ मत ल्याए।
वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह ४९२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी उत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापाले २९३ मत ल्याए।
यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत प्राप्त गरे।
वडा नम्बर १० को वडाध्यक्षमा एमालेका दलबहादुर सावद ५४८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए।
बुढीगंगामा १० वटा बडा छन्। अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
३ हजार ९६३ मत गणना हुँदा मेयर र उपमेयर दुवैमा एमालेकै उम्मेदवार अगाडि छन्। मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ २ हजार ४४३ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन्।
उपमेयरमा नेकपा एमालेकी माया कुमारी खड्का (कुवँर)ले २ हजार ४१७ मत ल्याउँदा नेपाली कांग्रेसकी रीता शाही (शाह)ले १ हजार ३१२ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।