काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टी स्थायी कमिटीको बैठक बोलाएको छ। बिहीबार सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले ४१ सदस्यीय स्थायी कमिटीको चयन गरेको थियो।
पूर्व १५ जना स्थायी कमिटीका नेताहरुलाई यथावत राखेर बाँकीको निर्णय पछि गर्नेगरी स्थायी कमिटी चयन भएको थियो।
पार्टीको आठौं महाधिवेशनपछि औपचारिक रुपमा गठन भएको पार्टीको स्थायी कमिटीको पहिलो बैठक शनिबार बिहान बोलाइएको हो।
स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बिहान ८ बजे अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक बोलाइएको जानकारी दिए।
केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको टुंगो नलगाएरै सकिएको थियो। त्यसको जिम्मा अध्यक्ष र स्थायी कमिटीमा रहेका नेताहरुलाई नै दिइएको थियो।
पार्टी स्थायी कमिटीको बैठक पदाधिकारीको टुंगो लगाउने लगायतका विषयमा छलफल गर्न बोलाइएको माओवादी स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।