काठमाडौं- नागरिकता विधेयक फिर्ता लिने निर्णयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठमाथि नैतिक संकट सिर्जना भएको नेकपा एमालेका नेता शेरबहादुर तामाङले बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा उक्त प्रस्तावमाथि छलफल गर्दै सांसद तामाङले आफैंले पास गरेको प्रतिवेदन फिर्ता लिनु नैतिकताको विषय भएको बताए।
हाल मन्त्री रहेकी श्रेष्ठ राज्य व्यवस्था समितिकी सभापति हुँदा त्यसमाथि छलफल भएको थियो। छलफलपछि संशोधन गर्दै उनकै पालामा संसदमा फिर्ता गरिएको थियो।
यही प्रसंग उप्काउँदै तामाङले भने, 'उहाँ आफैं सभापति हुँदा पास गरेर ड्राफ्ट यहाँ बुझाउनुभएको हो। आफैंले पास गरेको विधेयक फिर्ता लिने मन्त्रिमण्डलमा रहन उहाँलाई नैतिक संकट परिसक्यो।'
अहिले विधेयक फिर्ता लिँदा फेरि पनि नागरिकताका लागि कुरेर बसेकाहरुमा अन्याय हुने उनले बताए।
नेपालको संविधान २०७२ अनुसार नागरिकता पाउन योग्य नागरिकहरु ७ वर्षदेखि नागरिकताविहीन रहेकोतर्फ उनले ध्यानाकर्षण गराए। यो प्रक्रियाले अझ झन्झटमा फसाउने उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।