काठमाडौं– नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णयप्रति नेकपा एमालेले संसद्मा विरोध गरेको छ।
नेकपा एमालेका सांसदहरुले सरकारको निर्णयको विरोध गरेका हुन्। गृहमन्त्री बालकृष्ण खाँणले विधेयक फिर्ताको प्रस्ताव गरेलगत्तै एमाले सांसद कृष्णभक्त पोखरेलले विरोध जनाएका हुन्।
उनले विधेयक पास गर्नुपर्ने बेलामा फिर्ता लिने निर्णय गलत भएको बताएका छन्। यस्तै नेकपा एमालेका सांसद भीम रावल र शेरबहादुर तामाङले पनि विरोध जनाएका छन्।
नेकपा एमालेका सांसद भीम रावलले राज्य व्यवस्था परामर्श समितिमा छलफल भएर सरकारले संसद्मा पेस गरिसकेको नागरिकता विधेयकलाई अहिले हठातमा फिर्ता लिने निर्णय उचित नभएको बताएका छन्।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७५ लाई फिर्ता लिने प्रस्तावमाथि बोल्दै उनले यस्तो बताएका हुन्।
‘२ वर्ष राज्य व्यवस्थामा छलफल गरेको थियो। अघिल्लो सरकारले पेश गरेको प्रस्ताव त्यत्रो लगानी भएको थियो। यो सरकार काम चलाउ छ आम निर्वाचनमा जाँदै छौं,’उनले भने,‘सम्पूर्ण रुपमा फिर्ता लिएर जानु भनेको विलम्ब गर्नु हो। नागरिकतालाई राजनीतिको हतियार बनाउने काम हो। नागरिकतालाई कुनै राजनीतिको स्वार्थ नबनाइयोस्।’
यस्तै सांसद शेरबहादुर तामाङले पनि सरकारले अहिले नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव उचित नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।