काठमाडौं– सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा निर्देशन जारी गरेको छ।
सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले अघिल्लो पर्यटनमन्त्री प्रेम आलेले नियुक्ति र हटाएका श्रेष्ठको कार्यकाल बाँकी रहेको देखिएकाले हटाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो।
सरकारले असार ६ गते अधिकारीलाई निलम्बन गर्ने निर्णय मन्त्रिपरिषदवाट गरेको थियो। सर्वोच्चले अधिकारीलाई नियुक्तिपत्रमा उल्लेखित पदमा पूर्ववत काम गर्न दिनसमेत भनेको आदेश दिएको छ।
अर्को छलफलसम्मका लागि सर्वोच्चले बिहीबार यस्तो अल्पकालीन आदेश जारी गरेको हो। सरकारले आफूलाई पदावधि नसकिँदै हटाएको भन्दै अधिकारी सर्वोच्च पुगेका थिए।
मन्त्रिपरिषद्ले अधिकारीलाई हटाउँदै उक्त जिम्मेवारी दिपु ज्वारचनलाई दिएको थियो। सरकारले अधिकारीलाई सुरुमा चार वर्षका लागि नियुक्ति दिएको थियो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।