काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीकी सांसद् पार्वती बिसुन्खेले जलवायु परिवर्तनको नीति कार्यान्वयन गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठको शून्य समयमा बोल्दै सांसद् बिसुन्खेले जलवायु परिवर्तन नीति–२०७६ अन्तर्गत रहेका ६४ वटा अनुकुलन प्राथमिकताका कार्यक्रम सरकारले तत्काल कार्यान्वयनमा ल्याउन माग गरेकी हुन्।
‘कन्फरेन्स अफ द पार्टीज अर्थात् कोप सन्धी जुन युनाईटेड नेशन्स फ्रेमवर्क कन्भेन्सन अन कलाईमेट चेन्जको हिस्सा हो। यसमा १९७ पक्ष राष्ट्रमध्ये नेपाल पनि रहेको छ’, उनले भनिन्।
गत वर्ष स्कटल्याण्डको ग्लास्गो सहरमा सम्पन्न कोपको २६ औं सम्मेलनमा सन् २०५० सम्ममा विश्वमा कार्बन उत्सर्जन (नेट जिरो)मा पुर्याउने प्रतिवद्धता नेपालले पनि गरेको भन्दै सांसद बिसुन्खेले त्यसका लागि सरकारले जलवायु परिवर्तनको नीति कार्यान्वयन गर्नुपर्ने बताएकी हुन्।
उनले सोही उद्देश्य हासिल गर्नका लागि नेपालले राष्ट्रिय जलवायु परिवर्तन नीति–२०७६ बनाएको सदनमा स्मरण गराइन्। उनले जलवायुजन्य प्रकोपका समस्या समाधानका लागि पनि नीति कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।