काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा हुने अवान्छनिय गतिविधि निगरानी र नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताएका छन्।
‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु’ विषयक दुई दिने गोष्ठीमा बोल्दै प्रधान सेनापति शर्माले यस्तो बताएउका हुन्।
नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनलाई सुदृढीकरण गर्नका निमित्त समन्वयका क्षेत्रहरु पहिचान गरी कार्यान्वयनमा सहजता ल्याउने उद्देश्यका साथ नेपाल सरकारका सरोकारवाला मन्त्रालय, विभाग तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेनाको सीमा अनुगमन तथा सर्भे निर्देशनालयले उक्त कार्यक्रम गरेको थियो। कार्यक्रम सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार सम्पन्न भएको छ।
समापन कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनालाई प्राप्त जिम्मेवारीमध्ये सीमा सुरक्षाको विषयलाई हरदम राष्ट्रिय सुरक्षासँग जोड्दै निरन्तर अध्ययन तथा अनुसन्धान गर्दै आइरहेको बताए।
प्रधान सेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भए पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ तुल्याउन सीमा क्षेत्रमा हुने अवान्छनिय गतिविधिको निगरानी तथा नियन्त्रण गर्न सम्बद्ध सबै पक्ष चनाखो भई प्रयास गर्नुको विकल्प नभएको बताए।
रक्षा सचिव किरणराज शर्माले सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरण कार्यका लागि नेपाल सरकारका सम्वद्ध विभिन्न निकायहरु बीच पारस्परिक समन्वय र सहकार्य अपरिहार्य रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।