काठमाडौं– सरकारले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि त्यसविरुद्ध सर्वोच्च गएका एआईजी विश्वराज पोखरेलको मुद्दामा असार २६ गते तोकिएको अन्तिम सुनुवाइ नहुने भएको छ।
सरकारले मुस्लिम धर्मावलम्बीहरूको चाड इदको अवसरमा असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सो दिनका लागि तोकिएको अन्तिम सुनुवाइ नहुने भएको हो।
सार्वजनिक बिदामा अदालतसमेत बन्द हुने भएपछि २६ गते आईजी धिरजप्रताप सिंहविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दाको सुनुवाई पछि सरेको हो।
अब उक्त मुद्दाको अन्तिम सुनुवाइ कहिले हुन्छ भन्ने निश्चित छैन। लगातार चारपटक हेर्दाहेर्दैमा रहेको मुद्दाको विपक्षी बनाइएका आईजी धिरजप्रताप सिंहका तर्फबाट कानुन व्यवसायीहरुको बहस सकिएपछि असार २६ मा पोखरेलका तर्फबाट कानुन व्यवसायीहरुले जवाफी बहस दिने र सोही दिन सुनुवाइ सक्ने भनिएको थियो।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको थियो। इजलासले असार २३ भित्रमा बहस नोट बुझाइसक्न पनि भनेको थियो।
सोही अनुसार कानुन व्यवसायीहरुले बहस नोट पनि बुझाइसकेका छन्। मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरी आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए।
पोखरेलले वैशाख १९ गतेदेखि एक महिना लामो बिदा लिएका थिए। बिदा सकिएपछि पुनः बिदाका लागि उनले प्रहरी महानिरीक्षक समक्ष निवेदन पेस गरे पनि आईजीले भने बिदा अस्वीकृत गरिदिएका थिए। उनी पछिल्लो बिदा अस्वीकृत हुँदा पनि उनी कार्यालयमा गैरहाजिर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।