काठमाडौं– बिहीबारको प्रतिनिधि सभा बैठक जारी छ। बैठकमा खानेपानी सरसफाई विधेयक २०७५ माथि छलफल चलिरहेको छ।
त्यसमा मन्त्री उमाकान्त चौधरीले जवाफसमेत दिएका थिए। तर, अन्तिममा पारित गर्नका लागि संसद्मा सांसदको गणपुरक संख्या भने पुगेन।
सभामखुले निर्णयार्थ प्रस्तुत गरेपछि गणपुरक संख्या नपुगेको भन्दै सांसद खेमप्रसाद लोहनीले ध्यानाकर्षण गराए। उनले ध्यानाकर्षण गराउँदा संसद्भित्र सांसदको संख्या न्यून थियो।
त्यसपछि गणपुरक संख्या पुर्याउन लगातार तीन मिनेट घण्टी बजाइयो। निरन्तर घण्टी बजेपछि सांसदहरु संसद् भवन प्रवेश गरे।
संख्या पुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपुरक संख्या पुगेको हो भनेर संसद सचिवालयका कर्मचारीलाई भनेका थिए।
संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णायर्थ पेस गर्न संसद्को एक चौथाइ सांसद उपस्थित हुनुपर्ने हुन्छ।
त्यसो हुन नसके तीन मिनेटमा घण्टी बजाएर गणपुरक संख्या पुर्याउनुपर्दछ। तीन मिनेट लगातार घण्टी बजेपछि सांसदको संख्या ८३ पुगेको थियो।
गणपुरक संख्या पुग्न संसद्मा ६९ जना सांसदको उपस्थिति हुनुपर्दछ। गणपुरक संख्या पुगेपछि सभामुखले निर्णयार्थ पेस गरेका थिए। त्यसपछि उक्त विधेयक पारित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।