धनगढी– बाजुराको बुढीगंगा नगरपालिकामा जनप्रतिनिधि चयनका लागि जारी मतदानमा तनाव भएको छ।
नगरपालिकाको वडा नम्बर ९ स्थित त्रिशक्ति मावि मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच तनावको स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको थियो।
अहिले स्थिति शान्त भएपछि पुनः मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।
वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट धाँधली भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो।
त्यसपछि एमालेले मतगणना गर्नुपर्ने अडान राखेको थियो। सर्वोच्च र उच्च अदालतमा मुद्दा दायर गरेको थियो। तर, विभिन्न दलका स्थानीय नेताहरुले फेरि निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयन गर्ने सहमति जुटाएका हुन्। जस अनुसार असार २३ गते (अर्थात् बिहीबार)पुन: निर्वाचन गर्ने सहमति भएको थियो।
दुईटा बुथमा कांग्रेसले धाँधली गरेको एमालेको आरोप थियो भने चारवटामा एमालेले धाँधली गरेको कांग्रेसको आरोप थियो। निर्वाचन आयोगले उक्त विषयमा स्थलगत अध्ययन गरेको थियो। अध्ययनपछि फेरि चुनाव गर्ने निर्णय लिएको थियो।
नेपाली कांग्रेसबाट रंग खाती मेयर र रिता शाही उपमेयरका उम्मेदवार छन् भने एमालेबाट रामबहादुर बानियाँ मेयर र माया खड्का उपमेयरका उम्मेदवार छन्। देशका अन्य सबै (७५२) पालिकामा भने नयाँ जनप्रतिनिधि आएर बजेट समेत ल्याइसकेका छन्।
बिहीबारको मतदानमा सम्भावित झडपको आशंकामा एक हजार बढी सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
पुन: निर्वाचन गर्नका लागि निर्वाचन आयोगले नयाँ निर्वाचन अधिकृतको रुपमा लक्ष्मण बहादुर कडायतलाई तोकेको छ। यसैगरी, पहिलेका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको सट्टा प्रकाशचन्द्र अधिकारीलाई बाजुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व पनि सरकारले फेरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।