काठमाडौं– सरकारले प्रतिनिधि सभाबाट नागरिकता विधेयक फिर्ता लिने भएको छ। आज बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रतिनिधि सभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो।
उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेस भएको थियो।
संसद्मा पेस भइसकेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।
प्रतिनिधि सभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए।
बिहीबारकै प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ।
सभामुख अग्निप्रसाद सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले बताएका छन्।
गृहमन्त्री खाणले नै ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् भने खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव गौतमले जनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।