कोलम्बो–श्रीलंकाका राष्ट्रपति गोटबाया राजपाक्षेले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी आर्थिक संकटका कारण आएको इन्धन समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन्।
उक्त अवसरमा राजपाक्षेले विगतका चुनौतीको सामना गर्न रूसी सरकारले गरेको समर्थनका लागि पुटिनप्रति आभार प्रकट गरेका थिए।
राजपाक्षे अहिलेको आर्थिक चुनौतीलाई पराजित गर्न श्रीलंकालाई इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव माग गरिएको छ।
उनले रूसी समकक्षी पुटिनसँग रूसी विमान कम्पनी ‘एरोफ्लट’ को सेवा श्रीलंकामा पुनः आरम्भ गर्न अनुरोध पनि गरेको उनको कार्यालयले जनाएको छ।
उनले भने, ‘पर्यटन, व्यापार र संस्कृतिजस्ता क्षेत्रमा साझेदारी गरी द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु हाम्रा दुई राष्ट्रहरूका लागि सबैभन्दा महत्वपूर्ण छ भन्नेमा हामी सबै सहमत छौँ।' राजपाक्षेले पुटिनसँगको टेलिफोन वार्ता निकै उपलब्धिमूलक भएको पनि बताएका छन्।
इन्धन अभावको सामना गर्दै आएको श्रीलंकाका राजनीतिक दल तथा उनीहरूका नेताले राष्ट्रपति राजपाक्षेलाई रूससँग कच्चा तेलका लागि अनुरोध गर्न आग्रह गरेपछि राष्ट्रपति र रूसी नेताबीच फोनवार्ता भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।