काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीहरुलाई भोट हाल्नै नदिने चेतावनी दिएका छन्।
एमसीसीमा राष्ट्रघात गर्ने दलहरूलाई आवश्यक परे नेपाली सेनासँग मिलेर भए पनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उनको चेतावनी थियो।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरुलाई नेपाली जनताले भोट हालेर सत्ता चलाउने अधिकार दिन नहुने बताए।
आफ्ना केही पुराना साथीहरुले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाइ आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलालहरुलाई किन प्रतिबन्ध नलगाउने भन्दै प्रश्न गरे।
उनले भने, ‘मेरा केही पुराना साथीहरुले भनेछन्–विप्लवहरुले त राजासँग सेनालाई मिलाएर अरु पार्टीहरुलाई प्रतिबन्ध लगाउन खोजेका थिए, खोज्दैछन्। लगाउने पनि हो। दलालहरुलाई प्रतिबन्ध लगाईदैन त? देश बेचेर खाने मान्छेहरुलाई भोट हाल्न दिनु हुँदैन। नेपालमा उनीहरुलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनुहुँदैन। पहिला–पहिला फटाहा वकिलहरुलाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनुपर्छ। देश बेचेर खानेहरुलाई जनताले अधिकार दिनुहुँदैन। किनभने त्यस्तालाई नेपाली जनताले स्विकार गर्दैनन नि त। नेपाल प्रहरी र नेपाली सेनाले पनि त्यो कुरा बुझेजस्तो लाग्छ। देश नरहे प्रहरी र नेपाली सेनाले कहाँ काम गर्छ।’
महासचिव विप्लवले देश बेच्नेहरुलाई नेपाल प्रहरी र नेपाली सेनाले पनि साथ दिन नहुने बताए। उनले एमसीसी र एसपीपी सम्झौता आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्विकार्य नहुने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।