काठमाडौं– प्रहरीमा सामान्यतः इन्चार्ज टु इन्चार्ज सरुवा गर्ने प्रावधान छैन। आकर्षक मानिने इन्चार्जको जिम्मेवारी एक जनाले मात्रै पाउँदा अन्य प्रहरी अफिसरको मनोबल कमजोर हुने, काममा नैराश्यता आउने र नेतृत्वको वृद्धिविकासमा समेत असर पर्ने भन्दै इन्चार्ज टु इन्चार्ज सरुवा गरिँदैन।
तर, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई यस्ता पात्र हुन् जसले इन्चार्जमा ह्याट्रिक नै मारे। त्यो पनि एसएसपीका लागि निकै आकर्षक मानिने ठाउँहरुमा।
उनीसँगैका ब्याचीहरु एउटा मात्रै भए पनि राम्रो ठाउँको इन्चार्ज पाउनका लागि दौडधुप गर्दा उनी भने तीन÷तीन वटा मुख्य कार्यालयहरुको इन्चार्ज हाँक्ने भएका छन्।
प्रहरी प्रधान कार्यालयको तालिम महाशाखा नक्सालमा रहेका एसएसपी भट्टराईको आकर्षक मानिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथमा २०७७ मंसिर ५ गते सरुवा भएको थियो। अन्य आकांक्षीलाई पछि पार्दै भट्टराई त्यसबेला ट्राफिकको इन्चार्ज भएका थिए।
करिब १४ महिना लामो कार्यकाल सम्हालेपछि एसएसपी भट्टराईको ट्राफिक इन्चार्जबाट अर्को इन्चार्जमै सरुवा भएको थियो। २०७८ पुस २२ गते एसएसपी भट्टराई उपत्यका ट्राफिक इन्चार्जबाट संघीय इकाई प्रहरी कार्यालय भैरहवामा सरुवा भयो।
भैरहवामा कार्यररत रहेका तत्कालीन एसएसपी सुशील यादवले आत्महत्या गरेपछि रिक्त रहेको ठाउँमा भट्टराईको सरुवा भएको थियो। संघीय प्रहरी कार्यालय भैरहवाको इन्चार्ज भएको पाँच महिनामै फेरि सरुवा भएका भट्टराईले अर्को आकर्षक ठाउँको इन्चार्जको जिम्मेवारी पाएका छन्।
काठमाडौं उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) जघन्य अपराध अनुसन्धान गर्ने मुख्य इकाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको जिम्मेवारीमा भट्टराईले पाएका छन्।
अन्य आकांक्षी तथा प्रतिस्पर्धीहरुलाई पछि पार्दै शक्तिकेन्द्रका आडमा एसएसपी भट्टराईले आकर्षक ठाउँको इन्चार्जमा ह्याट्रिक गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।