काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले छानबिनलाई सहज बनाउन आफूले राजीनामा दिएको बताएका छन्। बुधबार संसद् बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका शर्माले संसद् भवनबाट बाहिरेने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन्।
‘यो जे विषय उठेको छ त्यस्लाई स्पष्ट पार्न, सत्यतथ्य ल्याउनलाई मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको हुँ’, उनले भने, ‘छानबिन समितिलाई सजिलो पार्न, छानबिनलाई मद्दत गर्न र सत्यतथ्य संसद्समक्ष ल्याउन मैले राजीनामा दिएको हो।’
यस्तै, शर्माले आफूले बजेट निर्माण प्रक्रियामा कुनै गलत नगरेको र स्थापित मान्यता अनुरूप बजेट निर्माण गरेको दाबी गरेका छन्।
उनले भने, ‘मैले बजेट निर्माण गर्दा कुनै पनी गल्ती गरेको छैन। स्थापित मूल्य, विधि तथा प्रक्रियाबाट निर्माण भएको छ।’
जनतालाई भ्रममा पार्ने गरी विषयहरू उठाइएको उनको दाबी छ। ‘जुन किसिमले विषय उठाइएको छ यसले आम जनतामा भ्रम परेको छ।’ शर्माले भने, ‘त्यो भ्रम निवारण गर्न र सत्यतथ्य ल्याउन मैले राजीनामा दिएको हो।’
सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेट निर्माण प्रक्रियामा बहिरिया मान्छे ल्याएर करका दर हेरफेर गरेको सार्वजनिक भए सँगै मन्त्री शर्माको चर्कोरुपमा विरोध हुँदै आएको थियो।
बुधबार सभामुख अग्नी सापकोटाले उक्त विषयको छानबिन गर्न एक विशेष संसदीय समिति गठन गरेका छन्। उक्त समितिलाई १० दिनको समयवाधि दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।