अछाम- अछाममा विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ।
जिल्ला प्रशासन कार्यालय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, वैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।
निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन भनिएको छ । यस्तै, निषेधित क्षेत्र तोकिएका ठाउँमा बाधा अवरोध नगर्न र निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मृतक विनोद शाहीको न्यायको लागि भन्दै सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिँदा १३ सुरक्षाकर्मी घाइते भएका थिए।
जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थानका १६ वर्षीय किशोर विनोद शाही २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए। हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल विनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत ३ जना माथि मुद्दा नचल्ने भएको छ। पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने र १२ जना नेता, कार्यकर्ताको नाममा जेठ २६ गते किटानी जाहेरी दर्ता भएको थियो।
शाही हत्याको घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखसहित तीन जनालाई मुद्दा नचलाउने निर्णय गर्दै अन्य चार जनाविरुद्ध कर्तव्य ज्यानमुद्दामा अभियोगपत्र दर्ता गरेको छ।
जिल्ला अदालत अछाममा दर्ता गरिएको अभियोग पत्रमा नगरप्रमुख अम्बिका चलाउनेकाे संलग्नता नरहेको दाबी गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले चलाउनेसहित अन्य दुई जना नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई पनि मुद्दा नचलाउने निर्णय गरेको छ।
प्रहरीको अनुसन्धानमा शाहीको हत्यामा उनीहरुको संलग्नता पुष्टि हुन नसकेको भन्दै उन्मुक्ति दिइएको हो। परिवारले जाहेरीमा नगरप्रमुखसहितको संलग्नतामा हत्या भएको भन्दै अनुसन्धान हुनुपर्ने माग गरेका थिए।
जाहेरी दर्ता भएपछि नगरप्रमुख चलाउने प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। पछि प्रहरीले उनलाई रिहा गरेको थियो।
यस्तै उक्त हत्या घटनामा संलग्न रहेको आरोपमा सरकारी वकिल कार्यालयले अन्य चारजना विरुद्ध अभियोगपत्र दर्ता गराएको छ। मुलुकी फौजदारी अपराध संहिता अनुसार उनीहरुमाथि सजाय हुनुपर्ने जिकिर अभियोगपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।