भारत– हिन्दुदेवी ‘काली’जस्तै पहिरन भएकी एक महिलाले चुरोट पिइरहेको फिल्मको पोष्टरलाई लिएर विरोध भइरहेको छ।
विशेषगरी हिन्दु धर्ममा आस्थावान भारतीयले विरोध गरेपछि सरकारकै तर्फबाट भारतीय उच्च आयोगले ध्यानाकर्षण गराएको छ।
उच्च आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीलाई क्यानडाका हिन्दु समुदायका नेताहरुका तर्फबाट फिल्मको पोष्टरमा देवी–देवताको अपमानजनक प्रस्तुतिकरणलाई लिएर गुनासो प्राप्त भएको छ। साम्प्रदायिकता भड्काउने उक्त पोष्टर फिर्ता गर्न माग गरिएकाे छ।’
भारतमा पनि यसलाई लिएर ठूलो विरोध भइरहेको छ। भारतकाे केन्द्रीय राजधानी दिल्लीका एक वकिलले फिल्मकी निर्देशिका लीना मणिमेकलईविरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।
शनिबार लीनाले आफ्नो फिल्म ‘काली’को एक पोस्टर ट्वीट गरेकी थिइन्। उनका अनुसार यो एउटा डकुमेन्ट्री हो।
उनी अहिले क्यानडामा आफ्नो पढाइ पूरा गरिरहेकी छिन्। मणिमेकलई दक्षिण भारतको तमिलनाडुकी हुन्। टोरन्टोमा फिल्म नै पढिरहेकी उनी १८ छात्रामध्ये एक हुन्।
उनलाई टोरेन्टो मेट्रोपोलिटन युनिभर्सिटीले बहुसंस्कृतिवादमाथि काम गर्नका लागि चुनेको छ। उनले आफ्नो फिल्ममा देवीलाई पहिले पनि देखाएकी थिइन्। सन् २००७ मा उनले डकुमेन्ट्री फिल्म ‘गडेसेस’मा पनि देवीलाई देखाएकी थिइन्।
सन् २०१९ मा उनले फिल्म ‘मादाती–एन अनफेयरी टेल’मा एक दलित केटीलाई देवीका रुपमा पूजा गरिरहेको काल्पनिक कथा देखाएकी थिइन्।
मणिमेकलई पोष्टरमा देवीको प्रेम दर्शाइएको बताउँछिन्। उनी भन्छिन्, ‘यसमा केनसिन्गटन बजार छेउको सडकमा रहने एक मजदुरले दिएको चुरोट कालीले स्वीकार गरेकाे दृश्य छ।’
दक्षिण भारतकाे ग्रामीण क्षेत्रमा खास पर्वमा केही मान्छे कालीको भेष बनाएर मदिरा सेवन गर्दै नाच्ने गरेको उनले बताएकी छिन्। उनी थप्छिन्, ‘डरको माहोलका कारण हामी कलाकारलाई असहज हुनुहुँदैन। आवाज थप मजबुत र बुलन्द गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।