काठमाडौं– नेपाली युवा उद्यमी मञ्च अध्यक्षमा रितेश लामिछाने चयन भएका छन्। मञ्चको १८ औं वाािर्षक साधारणसभाले लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो।
जसको प्रथम उपाध्यक्षमा सहारा जोशी, द्वितीय उपाध्यक्षमा कुशल सुन्दर श्रेष्ठ, महिला उपाध्यक्षमा निभिता प्रधान रहेका छन्।
यस्तै सदस्यहरुमा सुदीप घिमिरे, ऋचा श्रेष्ठ, कृष्ण सापकोटा, पवित्रा गौतम, आभूषण ज्योति कंसाकार र पुनित वैद्य रहेको मञ्चले जनाएको छ। यस्तै निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ पनि नयाँ कार्यसमितिमै रहेका छन्।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले साधारणसभाको उद्घाटन गरेका थिए। कार्यक्रममा मुख्य अतिथिका रुपमा उद्योगपति चन्द्र ढकालको उपस्थिति रहेको थियो। यस्तै, नेपाल सुन्दरी प्रियन्का रानी जोशी लगायत अन्य प्रतिष्ठित व्यक्तिहरुले कार्यक्रममा आफ्नो धारणा राखेका थिए।
साधारणसभामा मञ्चले विगतमा गरेका क्रियाकलाप र भावी योजना प्रस्तुत गरिएको थियो। नवनिर्वाचित अध्यक्ष रितेश लामिछानेले सन् २०२२ देखि २०२३ सम्मका लागि आफ्ना योजना प्रस्तुत गरेका थिए। साथै उनले यसवर्ष सम्पूर्ण च्याप्टरहरु लगायत काठमाडौंमा बृहत ‘मेड इन नेपाल’ प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाएका छन्।
एनवाईईएफले आफ्नो मुख्य चासोलाई बढावा दिँदै सकारात्मक सोच र देशलाई सफल बनाउने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नयाँ कार्यसमितिले युवा उद्यमीहरुबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गरी व्यवसाय विकास र प्रवर्द्धनमा जोड दिने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।