काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्गस प्रालिले कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ।
शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो।
कम्पनीले कायम भई लगानी गर्ने उद्देश्य रहेको पब्लिक लिमिटेड कम्पनीको हैसियतले कारोवार संचालन गर्न कम्पनी ऐनको दफा ६३ बमोजिम कारोवार स्वीकृति समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ। लिमिटेडको अधिकृत पूँजी ५ अर्व ८० करोड र चुक्ता पूँजी ४ अर्ब रहेको छ।
शिवम् होल्डिङ्गसले नेपालकै सबैभन्दा ठूलो क्षमतामा स्थापित अत्याधुनिक प्रविधियुक्त क्लिङकर र सिमेन्ट उत्पादन गर्ने चिनियाँ विदेशी लगानी समेत रहेको होङ्शी शिवम् सिमेन्ट प्रालिको सस्थापक रही उक्त उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ।
शिवम् होल्डिङ्गसको ३० प्रतिशत र चिनियाँ हङकङ रेड लाइन सिमेन्ट नं. ३ कम्पनीको ७० प्रतिशत शेयर लगानी रहेको होङ्शी शिवम् सिमेन्टले पहिलो चरणमा ६००० मे. टन. क्लिङकर र सिमेन्ट विगत ३ वर्षदेखि उत्पादन तथा बिक्री वितरण गरी रहेको छ।
दोस्रो चरणमा हालको क्षमता अभिवृद्धि गरी थप ६००० मे. टन. उत्पादन गर्ने र दैनिक २० हजार मे.टन. चुनढुङ्गा खानी स्थलबाट उद्योग स्थलसम्म पुर्याउन आधुनिक कन्भेयर वेल्ट निर्माणको क्रममा ५ कि.मि. लामो सुरुङगमार्ग निर्माणाधिन अवस्थामा रहेको कम्पनीले जनाएको छ।
उक्त कम्पनीले गत आ.व. २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर समेत वितरण गरिसकेको छ।
साथै शिवम् होल्डिङ्गस लिमिटेड कम्पनीले आफ्नो चुक्ता पूँजीको अधिकांश रकम होङ्शी शिवम् सिमेन्ट प्रा.लि. को उद्योगमा संस्थापक शेयरवालाको हैसियतले शेयर लगानी गरिसकेको र मुनाफा भई प्रतिफल समेत प्राप्त गर्न शुरू भई सकेको यस कम्पनीले संस्थापक समूह तर्फ ८० प्रतिशत रहेको कम्पनीले जनाएको छ।
कम्पनीले निकट भविष्यमा धितोपत्र बोर्ड समेतको स्वीकृतिमा सर्वसाधारणका लागि समेत सार्वजनिक निस्कासन गरी पूँजी संकलन गरि थप अन्य क्षेत्रमा समेत लगानी गर्ने योजना रहेको बताएको छ।
शिवम होल्डिङ्गस लिमिटेडमा मुख्य लगानीकर्ता, संस्थापक शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत अर्थात रु. ३ अर्व ४० करोड १० लाख ४२ हजार रुपैंयाको शेयर लगानी रहेको छ भने अन्य १९ जना विभिन्न क्षेत्रका उद्योग व्यापार र पेशा व्यवसायको आ–आफ्नो क्षेत्रमा सफलता पूर्वक क्रियासिल रहेका व्यक्तिगत संस्थापकहरूको करिव १५ प्रतिशत अर्थात रु. ५९ करोड ८९ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर रकम लगानी गरेका छन्।
यस शिवम् होल्डिङ्गस लिमिटेडले प्रत्यक्ष रुपमा शेयर लगानी रहेको होङ्शी शिवम् सिमेन्ट प्रा.लि. मुलुककै हालसम्मको ठूलो उत्पादन क्षमता जडित वेष्ट हिटबाट करिव १२ मेगावाट विद्युत उत्पादन गरी आफै सिमेन्ट उत्पादनमा उक्त विद्युत उपयोग गर्ने पहिलो उद्योग हो।
दोस्रो लाईनबाट उत्पादन शुरु भएपछि प्रति दिन १२००० मे. टन. क्लिङकर तथा सिमेन्ट उत्पादन हुने कम्पनीले जनाएको छ।
हाल नेपाल विद्युत प्राधिकरणबाट होङ्शी शिवम् सिमेन्ट उद्योगलाई २५ मेघावाट विद्युत जडान भई प्रयोग गरिरहेको छ।
उक्त उद्योगको कारण हाल नेपालमा सिमेन्ट र क्लिङकर उत्पादनमा आत्मनिर्भर भई देश विकासमा समेत ठूलो योगदान पुगेको अवस्था छ।
त्यसै गरी शिवम् सिमेन्ट्स लिमिटेड, शिवम् होल्डिङ्गस कम्पनीको संस्थापक तथा नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस–क्वालिटी अवार्ड प्रथम पुरस्कार प्राप्त गर्ने नेपालकै एक अग्रणी उच्च गुणस्तरको शिवम् ब्राण्डको असली ओ.पि.सि. सिमेन्ट उत्पादन गरी विक्री वितरण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।