काठमाडौं- युक्रेन र रुस दुवैले एउटा सहर आफ्नो कब्जामा रहेको दाबी गरेका छन्। दुवै देशले पूर्वी युक्रेनको लिसेचान्स्क सहर आफ्नो कब्जामा रहेको दाबी गरेका हुन्।
रुसी आक्रमणको सामना आफ्नो सेनाले निरन्तर गरिरहे पनि लिसेचान्स्क रुसको नियन्त्रणमा नगएको दाबी युक्रेनले गरेको छ।
तर रुसले समर्थन गरेका पृथकतावादीहरूले आफूहरू सफलतापूर्वक सहर प्रवेश गरेको र केन्द्र भागसम्म पुगेको बताएका छन्।
रुसी सञ्चारमाध्यमले आफ्ना फौज वा पृथकतावादीहरू सडकमा परेड खेलिरहेका जस्तो देखिने दृश्यहरू प्रसारण गरेको बीबीसीले जनाएको छ।
उक्त क्षेत्रको प्रशासनिक भवनमा रुसी झण्डा गाडिएको दाबी गरिएका भिडियोहरु सार्वजनिक भए पनि त्यसको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको समाचारहरुमा जनाइएको छ।
डोन्बास औद्योगिक क्षेत्रमा रहेको यो सहर युक्रेनले लुहान्स्कमा अन्तिमसम्म आफ्नो नियन्त्रणमा राखेको स्थान हो। रुसले नजिकैको सहर सेभेरोडोनेट्स्क गत महिना मात्रै आफ्नो नियन्त्रणमा लिएको थियो।
लुहान्स्क क्षेत्रका गभर्नर सर्ही हैदाले लिसेचान्स्क सबैतिरबाट रुसी फौजबाट घेरिएको र उनीहरू अघि बढिरहेको बताएका छन्। लुहान्स क्षेत्रका मस्को समर्थित समूहबाट रुसका लागि राजदूत नियुक्त गरिएका रोडिओन मिरोज्निकले रुसी टेलिभिजनहरूलाई लिसेचान्स्क "नियन्त्रणमा लिइएको" भए पनि अझै "मुक्त नभइसकेको" बताएका छन्।
रक्षासम्बन्धी ब्लगर रोब लीले चेचेन रुसी फौजहरू सहरमा देखिएको तस्बिरहरू सार्वजनिक गरेका छन्। रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेयता हजारौँ गैरसैनिक र सुरक्षाकर्मीहरू मारिएका वा घाइते भएका छन्।
युक्रेनमा एक करोड २० लाख मानिसहरू घर छोड्न बाध्य भएको जनाइएको छ। रुसी आक्रमणको प्रतिक्रिया स्वरूप पश्चिमा देशहरूले युक्रेनलाई अस्त्र सहयोग गरेका छन्।
उनीहरूले आणविक महाशक्ति र विश्व बजारमा ऊर्जाको प्रमुख आपूर्तिकर्तामध्ये एक रुसमाथि प्रतिबन्ध पनि लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।