नयाँ दिल्ली–भारतको राजधानी नयाँ दिल्लीबाट जबलपुरका लागि उडेको केही छिनमै विमानभित्र धुवाँ भरिएपछि शनिबार भारतीय स्पाइजेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ। विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ।
पाँच हजार फिटमाथि उडिरहेका बेला विमानको क्याबिनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत जानकारी गराएको छ। क्याबिनमा धुँवा भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
विमानमा कति यात्रु थिए भन्नेबारे कम्पनीले जानकारी गराएको छैन। तर विमान ‘सकुशल’ अवतरण गराइएको र यात्रुहरूलाई तत्काल अर्को उडानमार्फत् गन्तब्यमा पठाइएको उल्लेख गरिएको छ।
यसै वर्षको जुनमा पनि भारतको पटनाबाट नयाँ दिल्लीका लागि १८५ यात्रुसहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गराई यात्रुहरूलाई सुरक्षित विमानबाट निकालिएको थियो ।
मे महिनामा भारतमा नै अर्को एक विमानको ‘सफ्टवेयरमा आक्रमण गर्ने’ प्रयास भएको भन्दै निम्न भाडादर भएको स्पाइसजेट कम्पनीका विमानहरूको उडान अवरूद्ध भएको थियो। यसका कारण हजारौँ हवाई यात्रुहरू विमानस्थलमा अलपत्र पर्नु परेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।