नयाँ दिल्ली–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार टेलिफोनमा कुराकानी भएको छ। रुस–युक्रेन युद्धका बारेमा नै उनीहरुको संवाद केन्द्रित रहेको अधिकारीहरूले जनाएका छन्।
कुराकानीका क्रममा मोदीले वार्तामार्फत् नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए। उनले यस्तो सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारेका थिए।
आफू सँधै वार्ता र कूटनीतिक पहलबाट नै यस्ता कुराको निकास निकाल्न सकिन्छ भन्ने पक्षमा रहेको उनको भनाइ थियो।
भारतीय प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘युक्रेनसँगको विवादलाई कूटनीतिक र वार्ताको माध्यमबाट नै समाधान गर्नुपर्छ भन्ने आफ्नो लामो समयदेखिको पक्षधरता कायमै रहेको कुरा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग राख्नु भएको छ।’
भारतले युक्रेनमाथि रुसले आक्रमण गरेदेखि नै आक्रमण तत्काल रोक्न र वार्तामार्फत् दुई देशीय समस्या समाधान गर्न आग्रह गर्दै आएको थियो। भारतकै पहल र दबाबमा केही वार्ता भए पनि निस्कर्ष निस्कन भने सकेको थिएन।
दुई नेताका बीचमा विगतमा भएका अन्य सहमति र सम्झौता कार्यान्वयनका बारेमा पनि छलफल भएको जनाइएको छ।
गत वर्ष सन् २०२१ को डिसेम्बरमा पुटिनको भारत भ्रमणका क्रममा भएका सम्झौता र सहमतिको कार्यान्वयनको अवस्थाका बारेमा पनि उनीहरुले समीक्षा गरेका थिए।
विशेषगरी दुई पक्षीय सम्बन्ध, व्यापार, कृषि सामग्री आदानप्रदानलगायतका विषयमा पनि उनीहरुले कुराकानी गरेको अधिकारीहरूले जनाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।