काठमाडौं– नाइजेरियाकी धावक ब्लेसिङ ओकागबरेलाई डोपिङको आरोपमा ११ वर्षको प्रतिबन्ध लगाइएको छ। यसअघि उनलाई १० वर्ष प्रतिबन्ध लगाइएको थियो। जसलाई थप एक वर्ष थप गर्दै ११ वर्ष पुर्याइएको हो।
एथलेटिक्स इन्टिग्रिटी युनिट (एआईयू) ले ३३ वर्षीया ब्लेसिङलाई नमुना संकलनबाट जोगिने प्रयास गरेको र डोपिङ नियन्त्रण प्रक्रियासँग छेडछाड गरेको आरोप लगाएको छ।
फेब्रुअरीमा ब्लेसिङलाई एन्टी–डोपिङ नियमहरू उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाइएको थियो। सन् २०२१ को टोकियो ओलम्पिकमा लागूऔषध प्रयोग गरेको आशंकामा उनलाई निलम्बन गरिएको थियो। उनले ११ दशमलव ५ सेकेन्डमा १०० मिटर दौड जितेकी थिइन्।
उनीमाथि थप प्रतिबन्ध लगाइएपछि नाइजेरियाले जुलाईको विश्व च्याम्पियनसिपमा महिलाको ४ गुणा १०० मिटर रिलेमा आफ्नो सम्भावित योग्यता स्थान गुमाएको थियो।
नाइजेरियाले गत वर्ष जुन ७ मा उनको नमुना संकलन गरेको थियो। उनले १३ जुनमा ओलम्पिक रिले ट्रायलमा भाग लिएकी थिइन्। उनकै मद्दतमा टोली विश्व च्याम्पियनसिपमा छनोट भएको थियो।
यद्यपि, उनले पेस गरेका सबै परिणामहरू अयोग्य छन्। ब्लेसिङले २००८ बेइजिङ ओलम्पिक र २०१३ विश्व च्याम्पियनसिपमा लङ जम्पमा रजत पदक जितेकी थिइन्। उनले सन् २०१४ को कमनवेल्थ गेम्समा १०० र २०० मिटर दौड पनि जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।