काठमाडौं– १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा सिफारिस भएसँगै नेपाल प्रहरीमा ३२ एसएसपी पद रिक्त हुने भएको छ। १७ जना एसएसपी डीआईजीका लागि सिफारिस हुनुअघि नेपाल प्रहरीमा एसएसपीको १५ पद रिक्त थियो।
रिक्त ३२ एसएसपी पदमा बढुवा हुनका लागि राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट स्थानान्तरण भएर प्रहरीमा आएकाहरू र नेपाल प्रहरीमै भर्ना भएकाहरूबीच प्रतिस्पर्धा हुने भएको छ।
२०५३ पुस ५ गते राअविमा भर्ना भएर २०५८ सालमा नेपाल प्रहरीमा आएकाहरू र २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएकाबीच प्रतिस्पर्धा हुने देखिएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट २०७४ असार ३१ गते प्रहरी उपरीक्षक (एसपी)मा बढुवा हुँदा १०औं नम्बरसम्म (टप १०) राअविबाट प्रहरीमा स्थानान्तरण भएर आएको टोली बढुवा भएको थियो।
पहिलोदेखि १०औं नम्बरसम्म क्रमश; सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, गणेश चन्द, उमाप्रसाद चतुरवेदी, ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत बढुवा भएका थिए।
२०५४ सालको टोलीका अधिकृतहरूको ११औं नम्बरबाट मात्रै बढुवा भएको थियो। तर, यसपटक भने २०५४ सालको टोली अगाडि आउनलाई जोडतोडले लागेको छ। ११औं नम्बरमा राजन अधिकारी छन्। उनी २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकामध्ये पहिलो नम्बरमा छन्।
त्यसैगरी क्रमश ईश्वर कार्की, मनोजकुमार केसी, रेवती ढकाल, दानबहादुर कार्की, दिनेशकुमार आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किसनसिंह थापा, गोविन्द थपलिया, सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराज सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, रामेश्वरप्रसाद यादव, दिलीपसिंह देउवा, सञ्जिव शर्मा दास बढुवाको प्रतिस्पर्धामा छन्।
उनीहरूमध्ये मनोजकुमार यादव, विनोद घिमिरे, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, रामेश्वर यादव, दिलीपसिंह देउवा र सञ्जिव शर्मा दास पनि राअविबाटै आएका हुन्।
उनीहरूसँगै बढुवा भएका ३५ एसपीमध्ये केदार रजौरे र रविराज खड्का अवकाशमा गइसकेका छन्। यो टोलीका बाँकी ३३ जना र २०५१ सालमा भर्ना भएर बढुवामा छुटेका दिल्लीराज विष्ट गरी ३४ जना एसपी एसएसपी बढुवाका लागि मुख्य प्रतिस्पर्धी छन्। जसमा राअविबाट आएका १८ र प्रहरी निरीक्षकमै भर्ना भएका १६ जना एसपीबीच प्रतिस्पर्धा हुने देखिएको छ।
अहिलेको बढुवामा २०५४ सालको टोली जसरी पनि आफूहरू अघि आउनुपर्ने लबिइङमा छ। राअविबाट स्थानान्तरण भएका केही अधिकृतले गरेको गल्ती देखाएर उनीहरू अगाडि आउन खोजेको स्रोतको भनाइ छ। अहिले बढुवाको प्रतिस्पर्धामा रहेका राअविको टोलीका अधिकृतहरू पनि आफूहरूलाई अनावश्यक रुपमा बद्नाम गराएर ‘५४ को टोली’ अगाडि आउन खोजेको आरोप लगाउँछन्।
राअविबाट प्रहरीमा आएका अधिकृतलाई ‘करिअर पुलिस’ले ‘नमस्ते टोली’को संज्ञा दिने गर्छन्। नेताहरूलाई नमस्ते (चाकडी) गेरर अनुसन्धानमा भर्ना भएकाहरू प्रहरीमा स्थानान्तरण भएको र प्रहरीमा राजनीति गरेको आरोप उनीहरूमाथि लाग्ने गर्छ। बढुवादेखि आकर्षक ठाउँको सरुवामा पनि ‘नमस्ते टोली’कै बोलवाला रहने गरेको आरोप पनि ‘करिअर पुलिस’ले लगाउने गर्छन्।
त्यसबेला परीक्षा नै नलिइ ‘चोर बाटोबाट’ प्रहरी निरीक्षकमा स्थानान्तरण भएको भन्दै ११२ र ११३औं टोलीका प्रहरी निरीक्षकहरूले उनीहरूको स्थानान्तरणले आफूहरूको करिअरमै असर गर्ने भन्दै सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिटसमेत दायर गरेका थिए। तर, सर्वोच्चले भने सरकारको निर्णयलाई नै सदर गरिदिएको थियो।
राअविको टोलीका अधिकृत भने आफूहरूलाई ‘नमस्ते टोली’ भनेर जहिल्यै हेपिने गरिएको पीडा पोख्छन्। अहिलेको बढुवामा पनि आफूहरूलाई त्यस्तै आरोप लगाएर पछि पार्न खोजिएको राअविबाट प्रहरीमा स्थानान्तरण भएका एक अधिकृतको भनाइ छ।
२०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू पनि यसपटकको बढुवामा पर्न जोडतोडले लागेका छन्। २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ जेठमा एसपी भएका विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, सोमेन्द्रसिंह राठौरलगायत पनि बढुवामा पर्न जोडतोडले लागेका छन्। अघिल्लो टोलीका केही प्रहरी अधिकारीहरू कारबाहीमा समेत परेकाले आफूहरू अहिलेकै बढुवामा छिर्नुपर्ने भन्दै उनीहरू लबिइङमा लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।