काठमाडौं– नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने बताएका छन्।
गौतमका अनुसार बाँकी केही सदस्य भने माओवादी केन्द्रमा जाने छन्।
शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोन सम्बाद गरेपछि अब आफू एमालेमै फर्किने पक्का भएको बताएका हुन्।
उनको पार्टीका नेता डीबी कार्कीका अनुसार, ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेका छन्।
एकीकृत समाजवादीले एकताका नाममा अल्मल्याएको र शंकाको दृष्टिले हेरेका कारण उक्त पार्टीसँगको सम्पूर्ण सम्बाद समाप्त भएको कार्कीले बताए।उनले भने, ‘अब हाम्रो कुरा कोहीसँग हुँदैन, अहिले एमालेसँग एकतामा जान्छौं, त्यसपछि अरु वामपन्थीलाई एमालेको धारमा ल्याउने प्रयासमा लाग्छौं’, उनले भने।
लामो समय गौतमको प्रेस सहयोगीको भूमिकामा रहेका समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले शुक्रबार पार्टी र संगठन परित्याग गरी एमालेमा प्रवेश गरेलगत्तै ओलीले गौतमलाई छलफलका निम्ति बालुवाटार बोलाएका थिए। कार्कीका अनुसार, त्यही दिनको कुराकानीमा सबै कुरा टंगो लागेको र आज विहानको कुराकानीपछि एकता गर्ने कुरा पक्कापक्की भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।