काठमाडौं– सरकारले खेत बारीमा आउने जङ्गली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेपछि त्यसले बाँदरलाई धपाउन, लखेट्न र पक्रन कानुनी रूपमा नै बाटो खुलेको अधिकारीहरूले बताएका छन्।
लामो छलफलपछि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशैभरि लागु हुने गरी जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो।
तर वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरलाई मार्न नयाँ सरकारी सूचनाले अनुमति नदिएको भन्दै बालीनालीमा उक्त जनावरले पुर्याइरहेको क्षति रोक्न यो नियम ल्याइएको बताए।
चार वर्षअघि गरिएको एउटा अध्ययनले देशका झन्डै चार हजार वडामा बाँदरले कृषिजन्य उत्पादनमा असर गरिरहेको पाइएको थियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ को अधिकार प्रयोग गरी सरकारले जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको जानकारी नेपाल राजपत्रमा प्रकाशित गरेको छ।
जङ्गली रातो बाँदरका बारेमा रापत्रमा किसानको खेतबारीमा आएर बालीनाली वा धनजनको हानिनोक्सानी पुर्याएमा किसान एक्लैले वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्ने भनिएको छ।
सर्तहरु
कुनै बाँदरलाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष कार्यालय वा त्यस्ता कार्यालय मातहतको नजिकको कार्यालयमा बुझाउनुपर्ने र सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा समेत जानकारी दिनुपर्ने जनाइएको छ।
बाँदर धपाउने, लखेट्ने वा पक्रने क्रममा त्यसको मृत्यु भएमा त्यस्तो बाँदरलाई सम्बन्धित वडाका एक जना प्रतिनिधिसहितको रोहबरमा मुचुल्का खडा गरी गाड्नुपर्ने र त्यसबारे सम्बन्धित सरकारी निकायमा जानकारी गराउनुपर्ने भनिएको छ।
चौथो बुँदामा जङ्गली रातो बाँदर मारिएको अवस्थामा राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालयले प्रत्येक दुई महिनामा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयमा विवरण उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जङ्गली बाँदरलाई धपाउन, लखेट्न र पक्रन प्रतिबन्ध लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।