काठमाडौं- जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुने छ।
जैशीदेवल युथ क्लबद्वारा सञ्चालित जैशीदेवल तेक्वान्दो डोजाङले मंगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित विदाइ गर्यो।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायत अन्य पदाधिकारीले सो टिमलाई शुभकामनासहित विदाइ गरे।
सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतस्पर्धा गर्नेछन्।
प्रशिक्षकमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित रहेका छन्।
अध्यक्ष प्रजापतिले भारतमा खेल्ने टिमको सम्पूर्ण खर्च जैशीदेवल युथ क्लबले नै बेहोरेको जानकारी गराए। उनले प्रतियोगितामा खेल्न दुई लाखभन्दा बढी रुपैयाँ लाग्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।