काठमाडौं- दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।
बागमती प्रदेश खेलकुद विकास परिषद् तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा प्रहरीले न्यू डायमन्डलाई २५–१६, २५–१५ र २५–१५ को सोझो सेटमा पराजित गर्यो।
कीर्तिपुरस्थित कभर्डहलमा एपीएफले काठमाडौंको परोपकार आदर्श माविलाई सीधा सेटमा २५–११, २५–४ र २५–३ ले हरायो।
शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ। विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताअन्तर्गत बुधबार प्रहरी र परोपकार तथा न्यू डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ। असार १८ गतेसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन्। सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ।
शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनः भिड्ने छन्। तेश्रो र चौंथोले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।