काठमाडौं- इंग्ल्यान्डको पुरुष टोलीका कप्तान ओएन मोर्गनले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेका छन्।
उनले दुवै ढाँचामा इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने र सबैभन्दा धेरै खेल खेल्ने खेलाडीको रूपमा आफ्नो करिअरको अन्त्य गर्दैछन्। उनी इंग्ल्यान्डका लागि एकदिवसीय विश्वकप जित्ने पहिलो खेलाडी पनि हुन्।
लामो समयदेखि खराब फर्म र चोटसँग लडिरहेका कारण मोर्गनको निर्णय स्वाभाविक लिइएको छ। उनले घरेलु क्रिकेट खेल्न जारी राख्ने छन्। उनले ‘द हन्ड्रेड’ प्रतियोगितामा लन्डन स्पिरिटको कप्तानी पनि गर्नेछन्।
सन् २०१५ मा एलिस्टर कुकको उत्तराधिकारी नियुक्त भएदेखि मोर्गनले १२६ एकदिवसीय र ७२ टी–२० अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्डको नेतृत्व गरेका छन्। यस अवधिमा उनको कप्तानीमा इंग्ल्यान्डल २०१६ मा टी–२० विश्वको उपविजेता बनेको थियो। र, पछि टोलीले २०१९ मा एकदिवसीय विश्वकप जित्यो।
सन् २००९ मा इंग्ल्यान्डबाट खेल्नुअघि मोर्गनले आयरल्यान्डको प्रतिनिधित्व गरेका थिए। सीमित ओभरको क्रिकेटमा ३४० पटक इंग्ल्यान्डको प्रतिनिधित्व गर्नुका साथै मोर्गनले २०१० र २०१२ बीच १६ टेस्ट खेल खेले।
इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा मोर्गनले भनेका छन्,‘धेरै सोचविचार पछि म अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दैछु। यो निर्णय लिनु सजिलो भने थिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।