काठमाडौं– सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेको छ। नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रमा शतर्कता बढाइएको छ।
बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ। यस्तै, माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्ने कार्यमा समेत प्रशासनले रोक लगाएको छ।
नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध तथा स्पर र नोज अनुगमनको कार्यलाई समेत निरन्तरता दिएको छ। साथै सम्भावित विपत्लाई मध्यनजर गर्दै खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
नदीको बहाव बढ्दो क्रममा देखिए पनि अहिलेसम्म कहीँ कतै खतरा भने नरहेको प्रजिअ यादवले जानकारी दिए। कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार सोमवारसम्म सामान्य अवस्थामा रहेको नदीको बहाव पछिल्लो २४ घण्टा यता भने बढ्दो क्रममा छ।
पूर्वी भेगमा पहाडी क्षेत्रमा अविरल वर्षासँगै कोशी नदीको जलस्तर बढ्दो क्रममा देखिएको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख २६ हजार ५ सय ५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ। ब्यारेजका १६ ढोका खोलिएका छन्।
नदीको बहाव बढ्दो क्रममा रहेपनि सबै तटबन्ध तथा स्परहरु सुरक्षित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।