सोमबारको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री खाण
काठमाडौं– सरकारले नेपालमा रहेका शरणार्थीलाई परिचयपत्र प्रदान गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले परिचयपत्र बनाउन छुटेका शरणार्थीहरुलाई परिचयपत्र प्रदान गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाणले भने, 'छुटेका (शरणार्थी)हरुलाई उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ। उनीहरुले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ।'
गृहमन्त्री खाणले नेपालमा रहेका शरणार्थीको संख्या र परिचयपत्र पाउन बाँकी रहेकाहरुको संख्याबारे भने केही उल्लेख गरेनन्। तर, नेपालमा रहेका सबै मानिसको मानव अधिकारका विषयमा सरकार गम्भीर रहेको उनले जिकिर गरे।
'मान्छेहरु दुनियाको जुनसुकै कुनामा जन्मेको भएपनि उनीहरु मानव नै हुन्। उनीहरुको मानव अधिकार रहेको छ। नेपालमा पनि विभिन्न समय खण्डमा, विभिन्न भुभागबाट नेपालमा आएर बसेका शरणार्थीहरु हुनुहुन्छ। ती शरणार्थी पनि नागरिक नै हुन्,' खाणले भने, 'त्यसकारण उनीहरुको जीवनयापन सहज होस् र उनीहरुले मानव अधिकार प्राप्त गरुन भन्ने नै हामी सबैको चाहना छ। सरकारको पनि चाहना छ।'
नेपालमा रहेका शर्णार्थीहरुको नेपालमै बालबच्चाहरु समेत जन्मिएका र उनीहरु हुर्किँदै गएको उल्लेख गर्दै गृहमन्त्री खाणले उनीहरुप्रति पनि नेपाली समाज र सरकारको दायित्व रहेको बताए।
पछिल्लोपटक कोभिड १९ विरुद्धको खोप लगाउने क्रममा सुरुमा नेपाल भित्र नेपाली नागरिकले मात्रै लगाउन पाउने प्रावधान रहेकोमा त्यसलाई परिमार्जन गरी नेपालभित्र बसोबास गर्ने सबैले खोप लाउन पाउने व्यवस्था गरिएको गृहमन्त्री खाणले स्मरण गरे।
'नेपालभित्र बसोबास गर्ने सबै नागरिकहरुलाई कोभिड १९ को भ्याक्सिन दिनुपर्छ भन्ने नीति सरकारले लियो। शरणार्थीहरुलाई पनि, जो पहिचान खुलेका, परिचय पत्र भएका शरणार्थी र पहिचान नखुलेकाहरुलाई पनि हामीले भ्याक्सिनको सुविधा उपलब्ध गराएका थियौं,' गृहमन्त्री खाणले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।