काठमाडौं- रुसले युक्रेनको राजधानी किएभमा दर्जनौं क्षेप्यास्त्र प्रहार गेको छ।
किएभमा महिनौँयता भएको यो सबैभन्दा ठूलो आक्रमण भएको बीबीसीले जनाएको छ।
रुसी आक्रमणका कारण एक आवासीय भवन ध्वस्त भएको भने घटनामा एक जनाको मृत्यु र एक सात वर्षीया बालिकासहित छ जना घाइते भएको समाचारमा जनाइएको छ।
आइतबार किएभ क्षेत्रमा १४ वटा क्षेप्यास्त्र प्रहार भएको तर ती आक्रमण सहरी क्षेत्रभन्दा टाढा भएको युक्रेनले जनाएको छ।
त्यस्तै अर्को सहर चर्कसीमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। आक्रमणमा पर्ने अर्को सहरमा उत्तर-पूर्वी खार्किभ क्षेत्र रहेको छ जनाइएको छ।
किएभस्थित शिशु कक्षाको खेल मैदानमा ठूलो विस्फोट भएको थियो। त्यस नजिकै रहेको एक नौ तले भवनको माथिल्लो भाग ध्वस्त भएको थियो। विस्फोटमा परी घाइते बालिकाकी आमा जो एक रुसी नागरिक थिइन्, उनलाई त्यहाँको भग्नावशेषबाट निकालेर अस्पताल लगिएको अधिकारीहरूले जानकारी दिए।
उनीहरूका अनुसार ती घाइते बालिकाको शल्यक्रिया गरिएको छ र हाल उनको स्वास्थ्य अवस्था स्थिर छ।
युक्रेनी सेनाले टुपोलेभ बम्बर्समार्फत् करिब १,४५० किलोमिटर टाढा क्यास्पियन सागरमा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ। शनिवार सेनाले बताए अनुसार रुसी क्षेप्यास्त्रहरू रुसको मित्रराष्ट्र बेलारुसमा उड्ने टुपोलेभ्सबाट प्रहार गरिएको थियो।
रुसी रक्षा मन्त्रालयले आइतवार किएभको उत्तरी चेर्निहाइभ र राजधानीको पश्चिममा रहेको झिटोमिर र ल्भिभ क्षेत्रमा रहेको युक्रेनी सेनाको तालिम केन्द्रहरूमा उच्च क्षमता भएका अस्त्रहरू प्रहार गरेको बताएको छ।
किएभका मेयर भिटाली क्लिट्स्कोले यी प्रहारहरू जी सेभेन सम्मेलन अघि युक्रेनलाई धम्क्याउने प्रयास स्वरूप भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।