कोलम्बो–आर्थिक अभावका कारण समयमा नै पेट्रोलियम पदार्थ खरीद गर्न कठिनाई भएपछि श्रीलंकामा पेट्रोल तथा डिजेलको पुनः चरम अभाव भएको छ।
छिट्टै आइपुग्ने अपेक्षा गरिए पनि इन्धन आउन लामो समय लागेपछि पुनः अभाव भएको ऊर्जामन्त्री कञ्चन विजयशेखराले शनिबार बताएका हुन्। इन्धन संकटका लागि उनले सवारी चालकसँग क्षमा याचना गरेका छन्।
उनका अनुसार यो हप्ता आइपुग्नुपर्ने इन्धन बैंकिङ प्रक्रियाका कारणले आउन नसकेको हो। आगामी हप्ता पनि निर्धारित मात्रा आइपुग्न कठिनाई हुने देखिएको जनाइएको छ।
श्रीलंकाले खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक आयातलाई समेत धान्न विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरिरहेको छ।
कच्चा तेलको अभावमा सिलोन पेट्रोलियन निगमले एकमात्र रिफाइनरी पनि केही समय बन्द गरेको थियो। दुई महिने क्रेडिट शर्तमा दुबईस्थित कोरल एनर्जीमार्फत् किनेको ९० हजार टन रूसी कच्चा तेल प्रयोग गरेर रिफाइनरीले यस महिनाको सुरुदेखि उत्पादन सञ्चालन सुरु गरेको भए पनि कच्चा इन्धनको प्रशस्त आपूर्तिको अभाव देखिएको छ।
यस हप्ताको सुरु र अर्को हप्तासम्ममा आउने पेट्रोल, डिजेल र इन्धनको कच्चा पदार्थको ढुवानी’ बैंकिंग तथा व्यवस्थापकीय कारणहरूले गर्दा समयमै आइपुग्ने अवस्था नदेखिएको मन्त्री विजयशेखराले बताए।
उनले बाँकी रहेको इन्धन केही पेट्रोल पम्पबाट वितरण गरिने र सार्वजनिक यातायात र विद्युत उत्पादनलाई प्राथमिकता दिइने बताए। सवारी चालकहरूलाई इन्धनका लागि लामो लाइनमा नबस्न उनले आग्रह गरेका छन्।
गत हप्ता सरकारले ऊर्जा संकटका कारण आवतजावत कम गर्न दुई हप्ताका लागि विद्यालयसँगै राज्य सञ्चालित कम आवाश्यक संस्थाहरु बन्द गरेको थियो । इन्धनअभावका कारण देशभरका केही अस्पतालले स्वास्थ्य कर्मचारीको उपस्थितिमा तीव्र कमी आएको जानकारी दिएका छन्।
प्रधानमन्त्री रनिल विक्रमसिंघले बुधबार संसदमा भनेका थिए, ‘मुलुकले थप केही महिनाका लागि कठिनाइको सामना गरिरहनु पर्नेछ त्यसैले मानिसहरुलाई थोरै मात्र इन्धन प्रयोग गर्न आग्रह गर्नुको विकल्प छैन।’
उनले अहिले हामीले इन्धन, ग्याँस, बिजुली र खाद्यान्नको अभावबाहेक अझ गम्भीर परिस्थितिको सामना गरिरहेको बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।