काठमाडौं– महेन्द्र रत्न क्याम्पसले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
शनिबार ताहचलस्थित घरेलु कोर्टमा महेन्द्र रत्नले फाइनलमा रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गरेको हो।
७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा नेपाल कमर्स क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई २५–१९, २२–२५, २५–१९ र २५–२१ को सेटमा हराउदै तेश्रो भयो।
उपाधिसँगै महेन्द्र रत्नले १ लाख नगद पुरस्कार हात पारेको छ। दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाए।
महेन्द्र रत्नका हेमन्त मल्ल प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। सर्भरमा रत्नराज्यका रोहित थापा मगर, स्पाइकरमा रत्नराज्यका प्रदीप गुरुङ, ब्लकरमा कमर्सका सफल विक, सेटरमा कमर्सका सुवास कुँवर तथा लिफ्टरमा रत्नराज्य लवसन क्षेत्री उत्कृष्ट चुनिए। उत्कृष्ट सबैलाई नगद पुरस्कार प्रदान गरिएको थियो।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका बोर्ड तथा कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपकी सदस्य चन्द्र बदाना राई, आयोजक विभागकी प्रमुख निलम वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
चारदिने प्रतियोगितामा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।