काठमाडौं– नेपाल आर्मीकी जयरानी थारुले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन्।
पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन्। यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो। प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो।
शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए। उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।