काठमाडौं– बलिउडका बादशाह मानिने शाहरुख खानले आज यो क्षेत्रमा प्रवेश गरेको ३० वर्ष पूरा गरेका छन्। बलिउडमा खानको ३० वर्ष पूरा भएको अवसरमा उनको आगामी फिल्म ‘पठान’को मोसन पोस्टर पनि सार्वजनिक भएको छ।
सन् १९८८ मा टेलिभिजनबाट मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका खानले सन् १९९२ मा पहिलो पटक फिल्म खेलेका थिए। सन् १९९१ मा उनले हेमा मालिनीको निर्देशनमा बनेको ‘दिल खाशना है’मा काम गर्ने सम्झौता गरेपनि रिलिज हुन ढिलाई भएपछि १९९२ मा आएको ‘दिवाना फिल्म’ उनको डब्यु फिल्म बनेको थियो।
खानको डेब्यु रहेको उक्त फिल्मलाई राज कन्वरले निर्देशन गरेका थिए। फिल्म ३० वर्षअघि आजकै दिन अर्थात २५ जुनमा प्रदर्शनमा आएको थियो।
त्यसयता खानले निरन्तर फिल्म खेलिरहेका छन्। थुप्रै ब्लक बस्टर फिल्म दिएका खान पछिल्ला केही वर्षमा आफूले खेल्ने फिल्ममा प्रयोग पनि गरिरहेका छन्। तर, तीमध्ये खासै सफल भने हुन सकेका छैनन्।
बलिउडका बादशाहको फिल्मी करिअरको ३० वर्ष पूरा भएको अवसरमा उनको आगामी फिल्म ‘पठान’को मोसन पोस्टर सार्वजनिक भएको छ। फिल्मको निर्माण पक्षले युट्युबमा यसराज फिल्मस् मार्फत मोसन पोस्टर सार्वजनिक गरेको हो।
खान पछिल्लो पटक २०१८ मा जिरो नामक फिल्ममा देखिएका थिए। त्यसयता उनको फिल्म क्षेत्रमा उपस्थिति पातलिएको छ। हाल मोसन पोस्टर सार्वजनिक भएको उनको बहुप्रतिक्षित फिल्म ‘पठान’ भने २०२३ मा प्रदर्शनमा आउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।