काठमाडौं– आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा न्यू डायमन्डले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै अपराजित रहेर फाइनलमा स्थान पक्का गरेको हो। डायमन्डले राउन्ड रोविन लिगमा ३ खेलबाट ९ अंक जोड्यो।
शुक्रबारै भएको अर्को खेलमा परोपकार आदर्श माविले ज्ञान सुधा एकेडेमीलाई २५–२ र २५–२२ को सोझो सेटमा पारजित गर्दै फाइनलमा डायमन्डसँगको भेट पक्का गर्यो। परोपकारले ३ खेलबाट ६ अंक जोड्यो । एक खेलमा जित निकालेको ज्ञान सुधा एकेडेमीले ३ तथा ब्राइट होराइजन चिल्ड्रेन होमले सबै खेलमा हार बेहोर्दै अंकको खाता खोल्न सकेनन्।
अब शनिबार उपाधिका लागि न्यू डायमन्ड र परोपकार तथा तेस्रो स्थानको लागि ज्ञान सुधा र ब्राइट होराइजनबीच प्रतिस्पर्धा हुनेछ। न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्टले ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।