काडमाडौं– अधिवक्ता रुद्रप्रसाद पोखरेलसँग घुस डिल गरेको आरोपमा अनुसन्धानमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालसँगै अन्य चार जिल्ला न्यायाधीश पनि छानबिनमा तानिएका छन्।
न्याय परिषद्मा परेको उजुरीमाथि छानबिन गर्दा एक उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश पनि गम्भीर छानबिनमा तानिएका छन्। बुधबार आकस्मिक रुपमा बसेको न्याय परिषद्को बैठकमा उनीहरुमाथिको उजुरीमा पनि छलफल भएको थियो।
बैठकले यसअघि नै खोलिएको उजुरीमा उनीहरुमाथि गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। परिषद् स्रोतका अनुसार अर्को बैठकले गम्भीर विचलन देखिएका न्यायाधीशहरुको हकमा छानबिन समिति बनाउँदै काम गर्नसमेत रोक लगाउने तयारी गरिरहेको छ।
जिल्ला अदालतमा रहँदैमा उनीहरुले गरेका फैसलाहरुको अध्ययन अहिले परिषद्ले गरिरहेको छ। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले भने सर्वोच्चमा हाजिर भएका पाँचबाहेक अन्यको बारेमा आफूलाई जानकारी नभएको बताए। परिषद्को बैठकले छानबिन समिति बनाएपछि मात्र जानकारी हुने भएकाले यसबारेमा आफूले केही भन्न नसक्ने उनले बताए।
छानबिनमा तानिएकामध्ये दुई न्यायाधीश काठमाडौं जिल्ला अदालतका हुन्।
चार न्यायाधीश सर्वोच्चमा, एक काठमाडौं जिल्ला अदालतमा
छानबिननमा तानिएकामध्ये चार जना न्यायाधीश हाल सर्वोच्च अदालतमा काजमा रहेका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश कोइरालाको हकमा भने सोही अदालतमा हाजिर हुने तर, काम गर्न नपाउने निर्णय परिषद्ले गरिसकेको छ।
हाल सर्वोच्च अदालतमा काजमा रहेका न्यायाधीशहरु अम्बिकाप्रसाद निरौला, बद्रीप्रसाद ओली, नवीनकुमार जोशी र सूर्यप्रसाद अधिकारी रहेका छन्। उनीहरुमाथि विभिन्न समयमा गरेको फैसलामा कैफियत देखिएकाले समिति गठन गरेर छानबिन भइरहेको छ।
न्यायाधीश कोइराला घुसको डिल गरेको अभियोगमा तानिएका हुन् भने न्यायाधीश निरौला पटक–पटक विवादास्पद फैसला र आदेश गरेको आधारमा तानिएका हुन्। निरौलाको इजलासले पर्याप्त आधार र प्रमाण हुँदाहुँदै भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलका अपहरणकारी सोले र कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई उन्मुक्ति दिएको थियो।
बुढाथोकीलाई नेपाली नागरिक नै नभएको भन्दै न्यायाधीश निरौलाले निर्दोष रहेको भन्दै फैसला गरेपछि उनी विवादमा तानिएका थिए। त्यस्तै, न्यायाधीश अधिकारी बूढानीलकण्ठको हिट एण्ड रनको मुद्दामा सवारी दुर्घटनामा लापरवाही नगरेको ठहर गर्ने फैसला गरेपछि विवादमा तानिएका थिए। गम्भीर लापरबाहीबाट गाडी चलाएर महिलाको मृत्यु हुँदासमेत जम्मा ६ महिना कैदको फैसला सुनाएपछि न्यायाधीश अधिकारी विवादमा तानिएका थिए।
मदिरा सेवन गरेका व्यक्ति पृथ्वी मल्लले हाँकेको गाडीको ठक्करबाट २०७६ मंसिरमा बूढानीलकण्ठमा लिला देवकोटाको मृत्यु भएको थियो। उक्त घटनामा सवारी ज्यानको कसूरमा १० वर्ष कैद सजाय माग गर्दै मुद्दा गर्दा गरिए पनि अधिकारीले जम्मा ६ महिना कैदको फैसला सुनाएका थिए।
त्यस्तै, न्यायाधीश ओलीले पनि जिल्ला अदालत काठमाडौं र रामेछापमा रहँदा विवादास्पद फैसला गरेको पाइएपछि छानबिनमा तानिएका हुन्। उनले काठमाडौंको महाराजगञ्जस्थित ६ रोपनी सरकारी जग्गा व्यक्तिको हुने फैसला गरेका थिए। त्यस्तै, न्यायाधीश जोशी बलात्कार पीडितलाई नै जेल सजाय सुनाएर विवादमा तानिएका थिए।
पीडित महिलालाई नै साढे तीन वर्ष कैद सजायको फैसला गरेपछि अछामका तत्कालीन न्यायाधीश जोशीलाई सर्वोच्च तानेर छानबिन गरिएको थियो। उक्त घटनामा अहिले पनि छानबिन चलिरहेको छ। दबाब र प्रभावमा परेर बयान फेर्न बाध्य पारिएकी महिलालाई सजाय गर्ने तर अभियुक्तलाई सफाइ दिने विवादास्पद फैसला जोशीले गरेका थिए। हुँदै नभएको कानुनमा टकेर जोशीले उक्त फैसला सुनाएपछि उनी छानबिनमा तानिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।