काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन्। गृहमन्त्री खाण शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर ११३ हजयात्रीलाई बिदाइ गरेका हुन्।
यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्ये शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो। हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए।
उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए। हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँसहितको उपस्थिति थियो।
नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ। महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवकको टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ।
हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ। मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम धर्मावलम्बी हज गर्नका लागि जाने गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।