फाइल तस्बिर।
काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
अहिले काठमाडौं, सिन्धुपाल्चोक, चितवनको भरतपुर, सप्तरीको फत्तेपुर, झापाको कन्काई, तनहुँ, बाँके, सुनसरी लगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको भन्दै विभागले सतर्क रहन भनेको छ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
वर्षाका कारण ती प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
विभागका अनुसार शुक्रबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वर्षा नभएका स्थानहरुमा तापक्रम बढ्न सक्ने हुनाले त्यसबाट हुने असरबाट बच्न आवश्यक पनि विभागको अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।