काठमाडाैं-स्पिन इभेन्ट्सको आयोजनामा दोस्रो देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आगामी भदौ २१ देखि २५ गतेसम्म हुने प्रतियोगितालाई समाजसेवी पूर्णशंकर श्रेष्ठले प्रायोजन गर्ने भएका छन्। स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र प्रायोजक श्रेष्ठले बिहीबार प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरे। सो सम्झौताअनुसार प्रायोजक श्रेष्ठले प्रतियोगिता आयोजनाका लागि लाग्ने कुल बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने छन्। स्पिन इभेन्ट्सका अध्यक्ष शाक्यले प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपियाँ खर्च हुने जानकारी गराए।
आयोजकले सात स्पर्धा समावेश प्रतियोगितामा नेपालभरमा रहेका वडाबाट पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरेको छ। प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्षमाथि र पुरुष भेट्रान्स एकल ६० वर्षमाथि इभेन्टमा खेल हुनेछ।
प्रतियोगतामा नेपालका शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन्। पुरुष-महिला एकलमा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले ७ हजार ५ सय नगद पुरस्कार पाउने छन्। भेट्रानतर्फ शीर्ष तीन स्थान हात पार्नेले क्रमशः दस हजार, पाँच हजार र दुई हजार पाँच सय रुपियाँ पुरस्कार पाउने छन्। टिम च्याम्पियन वडालाई ५० हजार रुपियाँका साथै रनिङ शिल्ड प्रदान गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।