काठमाडाैं-कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ। प्रतिद्वन्द्वी बंगलादेशले पनि पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुवै टोली उक्त उपलब्धिका लागि निकै खुसी देखिएका थिए।
बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज– २०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्याे। बंगलादेशले नेपाललाई ३१–७ स्कोरले पराजित गर्याे।
खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने, ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडि बढ्ने ढोका खुल्यो।’
नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ। विश्व रग्बी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपाल विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ।
कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुसी हुँदै भने, ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो । तर आज आएर बल्ल १५ आफ्नै कप्तानीमा खेल्न पाएँ। ज्यादै खुसी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुने छ।’
नेपाल अहिलेसम्म डिभिजनविहीन छ । रग्बी १५ खेलेपछि अब त्यो वाटो खुल्नेछ।
बुधबार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई (५ अंक) मात्र गर्न सक्यो। तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दबावमा राख्यो।
यद्यपि खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्ण रुपमा नियन्त्रणमा राख्यो र एक ट्राई (५ अंक) हान्न सफल भयो। विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन् । योसँगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने।
ट्राई गरेपछि सीधा पोष्टमा कन्भर्सन (गोलपोष्टमा सीधा हान्ने) को अवसर पाउँछ। श्रीराम श्रेष्ठले उक्त कन्भर्सन मा स्कोर (२ अंक) गरेपछि नेपालको स्कोर ७ पुग्यो । खेलपछि नेपाली र बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशीयाली मनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।