काठमाडाैं-भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल बुधबार सुरु भएकाे छ। काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन्।
पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट भएका छन्। थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिनेछन्। यसैगरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी छनोट भइसकेकी छिन्। थप चार खेलाडी यसै प्रतियोगिताबाट छनोट हुने छन्।
छनोट खेलको बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री वसन्त मानन्धरले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय सल्लाहकार सुबोधराज सेर्पाली, संघका उपाध्यक्ष नारायण गमाल र ज्ञानेन्द्र खाइजुका साथै काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष नारायण श्रेष्ठ र सचिव प्रविण भडेँलको उपस्थिति थियो।
पहिलो चरणमा शीर्ष वरियताका खेलाडी रुपेस जययवालबीचकाे खेल बराबरीमा सकियो। यसैगरी, फीडे मास्टर क्षितिज भण्डारीले प्रकास नेपाललाई हराए। अर्को खेलमा सुरबीर लामाले सजिन मर्हजनसँगको खेलमा जित हात पारे। मनीष हमालले कृष्ण थापा तथा मिलन लामाले सुसील चौधरीलाई हराए।
महिलातर्फको खेलमा कृत्तीसरा अधिकारीले खुस्बु थापा, शान्ति धिमालले आभा पुडासैनी तथा अनिसा न्यौपानले पूर्णीमा गुरुङलाई हराए। यसैगरी विनिता पालीले पुनम प्रसाइसँगको खेलमा जित हात पारिन् । सिन्दिरा जोशीले सन्तोषी विकबाट वाक ओभर पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।