काठमाडौं– जिल्ला प्रशासन कार्यालय धनुषाका नायव सुब्बा गणपति झाविरुद्ध अवैध रुपमा सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नायव सुब्बा झाले निजामति सेवामा रहँदा २ करोड ४४ लाख बढी अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
२०३९ मंसिर ९ मा गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी)को पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका झा तत्पश्चात विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साउन महिनामा जिल्ला प्रशासन कार्यालय धनुषामा रहँदा अवकाश पाएका थिए।
सेवा प्रवेशदेखि अवकाशमा नजाँदासम्मको अवधिमा उनले वैध स्रोत (पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी संचयकोषको ऋण, कृषि आय, सवारी साधनको आय, वीमा म्याचुरीटि र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आय)बाट गरी २ करोड ४२ लाख ६७ हजार १०४ रुपैयाँ आयआर्जन गरेको देखिएको अख्तियारले जानकारी दिएको छ। तर, त्यस अवधिमा उनले विभिन्न शीर्षकमा गरी ४ करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च गरेको देखिएको अख्तियारले जनाएको छ।
नायव सुब्बा झाले वैध रुपमा गरेको आम्दानीको तुलनामा २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँ बढी पैसा खर्च गरेको देखिएको र उक्त रकम सार्वजनिक पदमा रहँदा अवैध रुपमा आर्जन गरेको देखिएको अख्तियारले दाबी गरेको छ।
अख्तियारले उनीविरुद्ध २ करोड ४४ लाख ७१ हजार १०५ बिगो कायम गरी बिगोअनुसार जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि नायव सुब्बा झासहित उनकी पत्नी मीनादेवी झा एवम् छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झालाई पनि प्रतिवादी बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।